• उजुरी दिने समयावधि:
    श्रम सम्बन्धी गुनासो वा उजुरी दिन परेमा मर्का पर्ने पक्षले घटना भएको मितिले ६ महिनाभित्र श्रम ऐन, २०७४ को दफा १६३ वा १६४ बमोजिम अधिकारप्राप्त निकायसमक्ष उजुरी दिनुपर्नेछ।
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिने विषयहरू (श्रम ऐन, २०७४ को दफा १६३ को उपदफा (१)):
    • इजाजतपत्र नलिई श्रमिक आपूर्ति गर्ने वा त्यस्तो कार्य गराउने।
    • श्रम इजाजत नलिई विदेशी नागरिकलाई काममा लगाउने।
    • काममा भेदभाव गर्ने।
    • नियुक्तिपत्र वा रोजगार सम्झौता नगरी काममा लगाउने।
    • अनुचित श्रम अभ्यास गर्ने।
    • श्रमिकलाई अन्याय हुने गरी ऐन विपरीत सरुवा गर्ने वा प्रतिष्ठानको विनियमावली विपरीत बढुवा सम्बन्धी कारबाही गर्ने।
    • उजुरी गर्ने निकाय: श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहल।
  • श्रम तथा रोजगार कार्यालयमा उजुरी दिने विषयहरू (श्रम ऐन, २०७४ को दफा १६३ को उपदफा (२)):
    • न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक दिई काममा लगाउने।
    • कानून विपरीत पारिश्रमिक वा सुविधा कट्टा गर्ने।
    • कानून विपरीत तालिमी वा प्रशिक्षार्थीका रूपमा काममा लगाउने।
    • कानूनबमोजिम श्रमिकले पाउने उपदान, सञ्चयकोष वा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगर्ने।
    • औषधि उपचार खर्च नदिने वा क्षतिपूर्तिबापतको बीमा नगर्ने।
    • श्रम ऐन विपरीत वा भेदभावपूर्ण तरिकाले जगेडामा राख्ने।
    • कानून विपरीत रोजगारीको अन्त्य गर्ने वा काममा हाजिर हुन नदिने।
    • उजुरी गर्ने निकाय: सम्बन्धित कार्यक्षेत्रको श्रम तथा रोजगार कार्यालय।
  • श्रम अदालतमा उजुरी दिने विषयहरू (श्रम ऐन, २०७४ को दफा १६४):
    • कसैलाई बाँधा श्रममा लगाउने।
    • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावधान जानीजानी वा लापरवाहीपूर्वक उल्लङ्घन गरी कसैको ज्यान जाने, अङ्गभङ्ग हुने वा व्यवसायजन्य रोगका कारण शारीरिक वा मानसिक क्षति हुने।
    • उजुरी गर्ने निकाय: श्रम अदालत, भक्तपुर।
    • रोजगारदाताले रोजगारी अन्त्य गर्ने गरी गरेको निर्णय वा खराब आचरणका सम्बन्धमा दिएको सजायमा चित्त नबुझेमा सम्बन्धित श्रमिकले निर्णय वा सूचना प्राप्त गरेको ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्नुपर्नेछ।
  • अनलाइनमार्फत उजुरी दर्ता:
    • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको र सम्बन्धित श्रम तथा रोजगार कार्यालयको वेबसाइट।
    • ILMIS (ilmis.dolos.gov.np)