१. श्रमिक आपूर्तिकर्ताको इजाजत / नयाँ दर्ता गर्नको लागि के-के कागजातहरू चाहिन्छ?

उत्तरः

  • कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि
  • कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा यस विभाग वा कार्यालयबाट श्रमिक आपूर्तिकर्ताको इजाजत दिने सेवाहरू स्पष्ट उल्लेख हुनुपर्नेछ
  • स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • अघिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • कम्पनी सञ्चालकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कुन काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न चाहेको हो सो को विवरण
  • संस्थापक वा सञ्चालकले कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको र प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको स्वघोषणा पत्र
  • सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको रोजगारदाता सूचीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विभाग वा कार्यालयले तोकेको अन्य आवश्यक कागजात

२. एक (१) वटा कार्यक्षेत्र अन्तर्गत मात्र श्रमिक आपूर्ति गर्न चाहेको अवस्थामा कहाँ निवेदन दिनुपर्छ?

उत्तरः
सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा सि.न. १ मा उल्लेखित कागजात सहित श्रमिक आपूर्तिकर्ताको कम्पनीको इजाजतपत्र तथा नवीकरण प्रक्रिया व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८१ को अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्छ।
यो निवेदन online पनि दिन सकिन्छ।

३. दुई वा सो भन्दा बढी कार्यक्षेत्र अन्तर्गत श्रमिक आपूर्ति गर्न चाहेको अवस्थामा कहाँ निवेदन दिनुपर्छ?

उत्तरः
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहलमा सि.न. १ अनुसारका कागजात सहित अनुसूची-१ बमोजिम निवेदन दिनुपर्छ।
यो निवेदन ilmis.dolos.gov.np बाट online पनि दिन सकिन्छ।

४. नेपालभर श्रमिक आपूर्ति गर्ने जम्मा कति कार्यक्षेत्र छन्?

उत्तरः
जम्मा ११ वटा कार्यक्षेत्र छन्। एउटा श्रम तथा रोजगार कार्यालयलाई १ कार्यक्षेत्र मानिन्छ।

५. एउटा कार्यक्षेत्रको लागि कति बैंक ग्यारेन्टी चाहिन्छ?

उत्तरः
रु. १५ (पन्ध्र) लाख।

६. दुई कार्यक्षेत्रको लागि कति बैंक ग्यारेन्टी चाहिन्छ?

उत्तरः
रु. २० (बीस) लाख।
(पहिलो १५ लाख + प्रत्येक थप कार्यक्षेत्र ५ लाख)

७. नेपालभर (सबै कार्यक्षेत्र) को लागि कति बैंक ग्यारेन्टी चाहिन्छ?

उत्तरः
रु. ६५ (पैसठ्ठी) लाख।

८. बैंक ग्यारेन्टीको अवधि कति हुनुपर्छ?

उत्तरः
इजाजतपत्र बहाल रहने अवधिभन्दा कम्तीमा ९ महिना बढी हुनुपर्छ।

९. बैंक ग्यारेन्टी जुनसुकै बैंकबाट बनाउन सकिन्छ?

उत्तरः
सकिँदैन। नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त "क" वर्गको बैंकबाट मात्र।

१०. बैंक ग्यारेन्टी कसको नाममा बनाउनुपर्छ?

उत्तरः

  • विभागमा आवेदन भए विभागको नाममा
  • श्रम तथा रोजगार कार्यालयमा आवेदन भए सम्बन्धित कार्यालयको नाममा

११. इजाजत दस्तुर कति हो?

उत्तरः

  • विभाग: रु. २०,०००
  • श्रम तथा रोजगार कार्यालय: रु. १०,०००

१२. इजाजत दस्तुर कहाँ बुझाउने?

उत्तरः
राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखामा।
विभागको हकमा:

  • कार्यालयको नाम: विभाग
  • कार्यालय कोड: ३७१०१३५०१
  • राजस्व शीर्षक: १४२२९

१३. कम्पनी दर्ता भएको कति समयभित्र इजाजत लिनुपर्छ?

उत्तरः
६ महिनाभित्र।

  • १ कार्यक्षेत्र: श्रम तथा रोजगार कार्यालय
  • २ वा बढी: विभाग

१४. प्रबन्धपत्रमा श्रमिक आपूर्तिको उद्देश्य नभए के गर्ने?

उत्तरः
पहिले कम्पनीको प्रबन्धपत्र संशोधन गरी श्रमिक आपूर्तिको उद्देश्य स्पष्ट उल्लेख गर्नुपर्छ।

१५. प्रबन्धपत्र संशोधन कहाँ गर्ने?

उत्तरः
कम्पनी रजिष्ट्रारको कार्यालयमा।

१६. कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा श्रमिक आपूर्ति सम्बन्धी कुनै उद्देश्य नरहेको तर हालै मात्रै श्रमिक आपूर्ति गर्ने उद्देश्य थप गरी आएको कम्पनीको हकमा उद्देश्य थप गरिएको अवधि देखि कति महिनासम्म नयाँ सरह मानी इजाजतपत्र जारी गर्न सकिन्छ ?

उत्तरः
६ महिनासम्म।

१७. ६ महिनापछि आवेदन दिए जरिवाना लाग्छ?

उत्तरः
लाग्छ। श्रम ऐन, २०७४ को दफा १६३(१)(क) अनुसार कारोबारको आधारमा जरिवाना हुन्छ

१८. श्रमिक आपूर्ति गर्न पाइने सेवाहरू के-के हुन्?

उत्तरः
क) सुरक्षा सेवा: सुरक्षा श्रमिक
ख) सहजकारी सेवा:
सबै प्रकारका सरसफाई तथा फोहर व्यवस्थापनलाई आवश्यक श्रमिक, बगैंचा व्यवस्थापन गर्ने माली लगायत कृषि श्रमिक, कार्यालय सहायक (चिया तथा खाजा तयार गर्ने वा म्यासेन्जर सेवा), क्यान्टिन तथा क्याटरिङ्ग श्रमिक।
ग) व्यवसाय सहयोग सेवा: चालक, परिचालक, लोड अनलोड, सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन गर्ने श्रमिक, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी लगायत निर्माण श्रमिक।
घ) घरेलु सहयोग सेवा: हाउसमेड, केयर गिभर लगायतका घरेलु श्रमिक।