श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । विभागको कार्य सञ्चालनबाट उद्योग कलकारखाना र व्यवसायहरुको प्रवर्द्धनको लागि श्रमिक र रोजगारदाताबीच पारस्परिक हित र लाभमा आधारित सुमधुर श्रम सम्बन्ध कायम गरी उत्पादकत्व बृद्धि गर्ने र श्रमिकहरुको हकहितको सरंक्षण गरी स्वस्थ्य औद्योगिक वातावरण कायम राख्ने लक्ष्य राखिएको छ ।

तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई वि.सं. २०३८ सालमा श्रम मन्त्रालय स्थापना भएपछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भएपछि विभागको कार्यक्षेत्र विस्तार गरी वि.सं २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवर्द्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगारसम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा आन्तरिक श्रम व्यवस्थापनले पर्याप्त महत्व र प्राथमिकता पाउन सकेन । श्रम व्यवस्थापन सम्बन्धी विषयको नीति निर्माण र प्रभावकारी कार्यान्वयनबाट बेरोजगारी घटाई मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु आजको आवश्यकता हो । यसै विषयमा केन्द्रित भई कार्य सम्पादन गर्ने प्रयोजनले वि.सं. २०६५ पुस १६ गते तत्कालीन श्रम तथा रोजगार प्रवर्द्धन विभागलाई पुनर्संरचना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहनेगरी श्रम विभागको स्थापना गरिएको थियो भने २०७५ साउन १ गतेदेखि हालसम्म श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको नामबाट सञ्चालनमा रहेको छ ।